धरान : साउदी अरबमा १४ वर्ष सम्म पसिना बगाउँदा मङ्गलसिंह आङवुहाङले भोगेको दुःख भनिसाध्दे छैन । अब चैँ भएन, स्वदेशमै केही गर्नुपर्छ भनेर उनी धरान फर्किए ।
२०७४ सालमा धरान-४ मा अढाई लाखको लगानीमा आङवुहाङ कृषि फर्म खोले । देशमा सङ्घीयता आएसँगै तत्कालीन प्रदेश सरकारबाट २०७५ सालमा १० लाख अनुदान पाए । अनुदान पाएपछि ७ सय कुखुरा र ५ सय बाख्रा थपे । कृषि फर्मको आम्दानी बढ्दै गयो । कुनै बेला १४ वर्षसम्म विदेशमा रोजगारीमा गएका मङ्गल सिंहले अहिले ३० जनालाई रोजगार दिएका छन् । अहिले त कृषि फर्मलाई बिस्तार गर्दै ड्रागन फुड र होमस्टे समेत सञ्चालन गरिरहेका छन् ।
मङ्गलसिंह मात्र होइन यस्ता कैयौँ मङ्गल सिंहहरू प्रदेश सरकारको सहयोगबाट उद्यमी बनेको छन् । उद्यमीहरूलाई प्रदेश सरकार नजिकको सरकार भनेर महसुस भएको छ । कोशी प्रदेशमा ६ सय ५५ जना साना तथा मझौला उद्यमीहरूले अनुदान तथा सहयोग पाएका छन् । ती मध्ये सुनसरीमा ७३ जना छन् ।
२०५५ सालमा १० रुपैयाँको काँक्राको बिउ किनेर १८ बोट काँक्राबाट कृषि कर्म सुरु गरेको बताउने धरान-४ का कृष्ण कुमार राई अहिले देशमै अगुवा अर्ग्यानिक कृषि उत्पादकका रूपमा स्थापित भएका छन् । कक्षा ८ मा पढ्दा खाजा खाने खर्च नभएपछि कृषिमा हात हालेका कृष्णकुमारले १८ बोट काँक्राबाट त्यो बेला ४ सय ९५ रुपैयाँ नाफा निकालेको बताए । अहिले उनी कृषि फर्मबाटै दिनकै ५० हजारको कारोबार गर्ने गरेको बताउँछन् । त्यसबाट वर्षमा ५४ लाख बढी नाफा हुन्छ । कृष्णकुमार राईलाई उद्यमी बनाउनमा प्रदेश सरकारको पनि सहयोग छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशको एक करोड सहयोगमा कृषि थोक तथा उपज बजार धरान-१३ मा कोल्ड स्टोर सञ्चालित छ । कोल्डस्टोर सञ्चालनमा आए सँगै धेरै कृषकलाई कृषि उद्यमी बन्न बाटो खुलेको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए ।
कृषि उद्यमी कृष्ण कुमार राई त्यही कोल्ड स्टोरमा आफूले उत्पादन गरेको तरकारी तथा फलफूल स्टोर गर्ने गरेका छन् । उनका अनुसार तरकारी तथा फलफूल बिक्री नभएर त्यसै कुहिएर जाने समस्या छैन । कृष्णकुमार वर्षको १५ टन बढी आलुको बिउ, तरकारी र फलफूल भण्डारण गर्छन् । कोल्ड स्टोरले व्यवसाय बढाउन निक्कै फाइदा पुगेको उनको भनाई छ । तर कोल्ड स्टोर कृषकका लागि पर्याप्त नभएको कृष्णकुमारको अनुभव छ । व्यवस्थापक भट्टराई पनि सो कुरा स्विर्काछन, उनी भन्छन् । ‘कृषकको माग बढी छ, उहाँहरूले चाहे जति ठाउँ दिन सकिएको छैन ।’
धरान-६ पानवारीका केपी दाहाल प्रदेश सरकारको सहयोगमा सञ्चालित कोल्ड स्टोरमा वार्षिक १० टन जति ड्रागनफुड स्टोर गरेर बिक्री गर्दछन् । कोल्ड स्टोरले उनलाई उद्यमी बन्न ठुलो सहयोग पुगेको छ । तर उनले पनि चाहे जति ठाउँ भने पाउन सकेका छैनन् ।
कोल्ड स्टोरबाट दुई सय भन्दा बढी कृषक लाभान्वित भएको व्यवस्थापक भट्टराईले जानकारी दिए । कोल्ड स्टोरको क्षमता बढाउन प्रदेश सरकारले सहयोग गरे अझ बढी कृषकहरूलाई सेवा दिन सकिने उनको भनाई छ ।
पूर्णकुमारीलाई उद्यमी बनाउन प्रदेश सरकारको सहयोग
धरान-१५ शान्तीपथकी पूर्ण कुमारी मास्के फरक क्षमताकी हुन । तर उनमा केही गर्ने सङ्कल्प, दृढता, धैर्यता, लगनशीलता, ईमान्दारीता सबै छ । अहिले उनी सफल महिला उद्यमी बनेकी छिन । ३५ सय रुपैयाँमा एउटा मेशिनबाट सुरु व्यवसायबाट नाम र दाम कमाएकी पूर्ण कुमारी वार्षिक करोडौँको कारोबार गर्छिन् । आज उनेको उद्यम उदाहरणीय र प्रशंसनीय छ ।
२५ वर्ष अगाडी डिप्लोमा हेण्डीक्राफट तालिम केन्द्र सञ्चालन गर्दा आफन्त नातागोता र समाजले पत्याएका थिएनन् । तर अहिले उनले परक क्षमता भएकाहरूलाई समाजले हेर्ने दृष्टिकोण नै परिवर्तन गर्न सफल भएकी छिन ।
घरेलु तथा साना उद्योग कार्यालयबाट ७० हजार पर्ने जुकी मेसिन अनुदान पाएपछि उनको उत्साह झनै बढेर गयो । उनले हाल हाल १ सय १० जनालाई रोजगार दिएकी छिन । न्यून लागतबाट सुरु गरेको व्यवसायले अहिले पूर्णकुमारीले नाम र दाम मात्र कमाएकी छैनन् समाजको प्रेरणाको स्रोत बन्न सफल भएकी छिन ।’
पूर्णकुमारीले सङ्घीयता आएसँगै प्रदेश सरकारबाट करिब ११ लाख रुपैयाँको कार्यक्रम गरेकी छिन । उनले साना तथा घरेलु उद्योग मार्फत ८ लाख ऋण पाएकी छिन । तत्कालीन कोशी प्रदेशसभा सदस्य सावित्री जोशी मार्फत प्रदेश सरकारबाट प्राप्त ६ लाख रुपैयाँमा तालिम सञ्चालन गरेकी थिइन । पूर्णकुमारी अहिले थप लगानी गर्ने सोचमा छिन । धेरै महिलालाई आफू जस्तै व्यवसायी बनाउने उनको इच्छा छ । उनी भन्छिन् '२० देखि ३० हजार महिलालाई रोजगार प्रदान गर्ने अठोट र विश्वास छ।'
प्रदेशले महिला उद्यमीलाई सम्मान गर्दै पुरस्कृत
कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालले महिला उद्यमीलाई प्रोत्साहन साथै आत्मसम्मानका लागि सम्मान तथा पुरस्कारको व्यवस्था गरेको जानकारी दिए ।
महिला उद्यमीको कार्यको सम्मान गर्दै प्रदेशभरबाट उत्कृष्ट महिला उद्यमीलाई नगद ५० हजार सहित पुरस्कृत गरेको उनले बताए । 'आगामी आर्थिक वर्षमा अझ थप सहयोग गर्छौ' सचिव दाहालले भने ‘महिला उद्यमी उत्पादन गर्न सीप विकासका लागि तालिम र अनुदान सहयोगको कार्यक्रम गरेका छौँ ।
कोशी प्रदेशमा साना ठुला गरी ४५ हजार उद्यम
कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालय अनुसार कोशी प्रदेशका १४ जिल्लामा ४८ हजार ६ सय ५४ उद्यमीका ४५ हजार ०१३ उद्योग छन् । जसमध्ये २० हजार ७ सय ७२ महिला उद्यमी छन् । कुल उद्यममा १ लाख ४० हजार ४ सय ४१ ले रोजगार पाएका छन् । जसमध्ये ५५ हजार १ सय ३९ जना महिला छन् । लघु घरेलु तथा साना उद्योग (उद्योग विभाग) को आर्थिक वर्ष २०७९ /८० तथ्याङ्क आधारमा सुनसरी जिल्लामा ९ सय २६ वटा उद्योग सङ्ख्या रहेको छ भने ९ सय २६ उद्यमीहरू मध्ये ५२६ जना महिला उद्यमी रहेका छन् । ती उद्योगहरूमा रोजगार सङ्ख्या ३ हजार ८७ जना मध्ये १२ सय ६० जना महिलाहरू रोजगार रहेका छन् ।
उद्यमी बनाउन प्रदेशको लगानी
धरानमा १६ वर्ष देखी व्यवसाय गर्दै आएकी पवित्रा नर्सरीकी कल्पना लिम्बुले पनि देशमा सङ्घीयता आए सँगै महिला उद्यमशीलता कर्जा प्राप्त गरिन । सानो ठाउँमा धेरै लगानीमा व्यवसाय गरेकी सुब्बाले भनिन ‘कर्जा पाएसँगै व्यवसाय सञ्चालन गर्न सहज र स्थान वृद्धि गरेको छु ।’, उनीले बैङ्कमा जग्गा धितो राखेर १५ लाख ऋण लिन पाएको बताइन ।
कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी कम्प्युटर अधिकृत चूडामणि निरौलाका अनुसार प्रदेश सरकारले महिला पुरुष दुवैका लागि कृषिजन्य कच्चा पदार्थमा आधारित उद्यम प्रवर्द्धनात्मक लागि प्रविधि हस्तान्तरण, परम्परागत उद्यम, बेरोजगार युवा तथा वैदेशिक रोजगारबाट फर्केका युवालाई स्वरोजगारका लागि प्रविधि हस्तान्तरण गरेको छ । दलित समुदाय लक्षित उद्यम, सीमान्तकृत समुदाय लक्षित कर्जा उपलब्ध गराएको अधिकृत निरौलाले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षदेखि महिलाका लागि विशेष अनुदानको काम भइरहेको छ ।
प्रदेश सरकारले उद्यमीलाई प्रोत्साहन गर्न १४ जिल्लाका महिला उद्यमीलाई ११ लाख बराबरको रकमले पुरस्कृत गरेको छ । प्रदेश सांसद यशोदा कायस्थले भन्छिन् “उद्यमशीलता आजको आवश्यकता हो ।” उद्यमशील कर्जा उपलब्ध गर्दै उत्पादित बस्तु बजारीकरण गर्न प्रदेश सरकार तयार रहेको उनको भनाई छ । धरानमा युवा उद्यमी उत्पादन गर्न ७ लाख बराबरको बजेटबाट तालिम सञ्चालन गरेको उनले जानकारी दिइन।
प्रदेश सरकारको बजेटमा उद्यम क्षेत्रलाई प्राथमिकता
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर रानाले आगामी आर्थिक वर्षको बजेटमा उद्यम क्षेत्रलाई प्राथमिकता दिएका छन् । बजेटमा द्वन्द्व पीडित, अधिकार प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका घाइते, अति विपन्न, गरिबीको रेखामुनि रहेका र बेरोजगार युवालाई उत्पादनमूलक उद्यम सञ्चालन गरी आयआर्जन गर्न आवश्यक सीप सहित प्रविधि उपलब्ध गराउन उद्यम प्रवर्द्धन तथा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन तथा विभिन्न उद्यम सञ्चालनका लागि आवश्यक उपयुक्त उन्नत आधुनिक प्रविधि अवलम्बन सहयोगका लागि १३ करोड १५ लाख बजेटको व्यवस्था गरिएको छ। स्टार्टअप सम्बद्ध उद्यमीलाई प्रविधि अवलम्बनमा ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
यसैगरी बजेटमा प्रदेशको भौगोलिक विविधता अनुरूप विभिन्न रैथाने सीप प्रविधि तथा कच्चा पदार्थमा आधारित स्थानीय पहिचान भएका अल्लो, ढाका जस्ता वस्तुहरूको उत्पादन प्रवर्द्धन गर्न क्षेत्र विशेष उद्यम प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न १ करोड ८ लाख बजेटको व्यवस्था गरिएको छ।
युवा, महिला तथा एकल महिला, दलित, पिछडिएका वर्ग, भिन्न क्षमता भएका व्यक्तिहरू लगायतको उद्यमशीलता तथा औद्योगिक सीप विकास गर्न र स्थानीय उद्योगहरूमा उद्यम प्रवर्द्धन तथा स्तरोन्नतिका लागि ४ करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।
प्रदेशको समावेशी आर्थिक रूपान्तरणका लागि रोजगारी र आय स्तर अभिवृद्धि गर्न स्थानीय तह तथा सङ्घसंस्थाहरू सँगको लागत साझेदारीमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि २ करोड रकम छुट्टाइएको छ ।
उद्यममा लगानी बढाउन माग
स्थानीय र प्रदेश सरकारले उद्यमी बनाउन पर्याप्त बजेट छुटयाउनुपर्ने उद्यमीहरूको माग छ । अनुत्पादक ठाँउहरुमा लगानी गर्नुको साटो थोरै ठाउँमा तर उत्पादनमूलक ठाउँमा लगानी गर्न उद्यमी पूर्णकुमारीको सुझाव छ । पूर्णकुमारी भन्छिन् 'सरकारले तालिम तथा लगानी गर्दा थोरै सङ्ख्यामा लगानी गरोस्, जसमा लगानी हुन्छ उसलाई सक्षम उद्यमी बनाओस् ।'
धरानकी पुष्प व्यवसायी कल्पना भन्छिन्, ‘नर्सरी स्थापना गरेको १३ वर्ष भयो । राज्यलाई कर पनि बुझाइरहेको छु तर, आजसम्म राज्यको एक रुपैयाँ अनुदान पाएको छैन । अनुदानका लागि प्रक्रिया नै झन्झटिलो भएको उनको अनुभव छ ।
यस्तै धरान-१५ मा मनिता घिमिरे ६ वर्षदेखि अर्ग्यानिक साबुन उत्पादन गरी रहेकी छिन । उनले घरेलु तथा साना उद्योगमा दर्ता गरेर सञ्चालित उद्योगमा ३ जनालाई रोजगार दिएकी छिन । उनी पनि राज्यले दिने अनुदान तथा सहुलियतको पर्खाइमा छिन । प्राकृतिक साबुन उत्पादक मनिताको सरकारले साना उद्योगीलाई भन्सार कर छुट गरिदिनुपर्ने माग छ ।
कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालले भने व्यवसाय दर्ता भई कर तिरेका उद्यमीलाई सहज रूपमा अनुदान प्रदान गरिएको दाबी गरे । सीप र क्षमता अभिवृद्धि गर्न आवश्यकता अनुसार तालिम प्रदान गरिरहेको पनि उनले जानकारी दिए ।
उद्यमीको गुनासो : 'कामदार पाइँदैन'
महिला उद्यमी पूर्णकुमारी कामदार नपाउनाले बजारको माग अनुसार आपूर्ति गर्न नसकेको बताउँछिन् । उनी भन्छिन्, ‘नेपालमा धेरै बेरोजगार छन् भनिन्छ तर खोजेका बेला काम गर्ने मान्छे नपाएर हैरान छु ।' कामदारको अभावमा बजारमा माग अनुसार समान पठाउन नसकेको उनको दुखेसो छ । उनको उद्योगमा दौरा, सुरुवाल, तयारी पोसाक, कल्चरल ड्रेस, परालको जुत्ता, बेहुला बेहुलीले लगाउने मखमलको जुत्ता, चप्पल, ब्याग, क्रिष्टलको गरगहना, कुसनको बेड सिट, बेहुलीको टिका, कपालमा लगाउने लाछा, विवाहको माला, पञ्चतत्व अगरबत्ती गाईको गोबर अगरबत्ती बनाइन्छ ।
उनले ती बस्तु उत्पादन गर्न तालिम पनि दिँदै आएकी छिन । हालसम्म आर्थिक रूपमा विपन्न ५ हजार जनालाई तालिम दिएकी छिन । उनले तालिमबाट मात्र मासिक औसतमा ५ लाख रुपैयाँको कारोबार गर्छिन् । तर कोरोनाकाल पछि केही कम भएको उनको भनाई छ । उनले सञ्चालन गरेको हेण्डिक्राफ्टमा १६ जना प्रशिक्षकले ४९ विषयको तालिम दिन्छन् । यति गर्दा पनि उनलाई कामदारको भने अभावै छ । 'रोजगारी र राम्रो बेतन दिन्छु भन्दा पनि कामदार पाउन हम्मे पर्छ' उनले भनिन् ।
फरक क्षमता भएकालाई विशेष सहयोग आवश्यक
‘प्रदेश तथा सङ्घीय सरकारले फरक क्षमता भएकाहरूका लागि विशेष कार्यक्रम सञ्चालन गरिनुपर्ने पूर्ण कुमारीको माग छ। उनीहरूलाई उत्पादनमुखी र रोजगारमुखी बनाउन लामो अवधिको तालिम दिई लगानी गरे दक्ष उद्यमी बनाउन सकिने उनको सल्लाह छ । अधिवक्ता दर्शन राई पनि फरक क्षमता भएका व्यक्तिलाई राज्यले विशेष संरक्षण गर्नुपर्नेमा जोड दिन्छन् ।