सुनसरी : सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
आज बिहान करिब पौने १२ बजेतिर इटहरी उप-महानगरपालिका १६ बालग्राम स्थित पूर्व पश्चिम राजमार्गमा झुम्काबाट इटहरी तर्फ आउँदै गरेको को ३६ प ५६३७ नम्बरको मोटरसाइकललाई तत्काल पहिचान नभएको सवारी साधनले ठक्कर दिएको थियो ।
दुर्घटनामा परि मोटरसाइकल चालक सखुवासभाको धर्मदेवी नगरपालिका ६ बस्ने वर्ष ३२ का युवराज गुरुङ र पछाडि सवार उनकी श्रीमती वर्ष ३२ किटीका गुरुङ गम्भीर घाइते भएका थिए ।
उनीहरूलाई तत्काल इटहरीस्थित एपेक्स अस्पताल पुर्याएको थियो । त्यहाँ सामान्य उपचार पश्चात् उनीहरूलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उनीहरूलाई चिकित्सकले दिउसो १ बजेर ६ मिनेटमा मृत घोषित गरेका थिए ।
ठक्कर दिने सवारी साधनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।