पोखरा : सञ्चालनमा आएको दुई वर्षपछि पर्यटकीय सहर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।

नेपाली र चिनियाँ संयुक्त लगानीको हिमालय एयरलाइन्सले पोखराबाट तिब्बतको राजधानी ल्हासामा नियमित उडानको तयारी थालेको हो । हिमालयले १४४ सिट क्षमताको एयरबस ३१९ विमानबाट पोखरा-ल्हासा उडान गर्नेछ ।

डिसेम्बर अन्तिम वा जनवरी पहिलो साता पोखरा-ल्हासा उडान सुरु गर्ने हिमालयको तयारी छ । यसैअनुसार हिमालयले पोखराबाट ल्हासा गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि प्रक्रिया अगाडि बढाएको छ ।

नागरिक उड्डयन प्राधिकरण (क्यान) र सिभिल एभिएसन एडमिनिस्ट्रेसन अफ चाइना (सिएएसी)ले अनुमति दिने बित्तिकै उडान सुरु हिमालयको गृहकार्य छ । हिमालयले पोखरा-ल्हासा उडान अनुमतिका लागि तालिका पेस गरेको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

ल्हासा-पोखरा उडानका लागि ल्हासा गोंगर विमानस्थलबाट पनि अनुमति लिनुपर्ने हुन्छ । हिमालयले सोमबार काठमाडौँबाट ल्हासा उडान गर्ने र पोखरा आएर रात्रि विशान गर्ने, मङ्गलवार पोखराबाट ल्हासा हुँदै काठमाडौँ फर्किने गरी तालिका पेस गरेको छ ।

"ल्हासाबाट अनुमति पाउने बित्तिकै प्राधिकरणबाट अनुमति पाइहाल्छ, यताको कुनै समस्या रहेन,’ क्यानका सहप्रवक्ता भुलले भने, " ल्हासा उडान सुरु भएपछि पोखरामा अन्तर्राष्ट्रिय उडानको ढोका खुल्नेछ ।’

अहिलेसम्म पोखरा विमानस्थलमा ६ वटा चार्टर्डबाहेक नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन । हिमालयले पोखरा-ल्हासा सेक्टरमा सम्भावना देखेरै उडान सुरु गर्न लागेको हो ।

क्यानले पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि नेपाल वायुसेवा निगम र हिमालयलाई पत्राचार नै गरेको थियो । निगमबाट अझै कुनै प्रतिक्रिया नआएको सहप्रवक्ता भुलले बताए ।

क्यानको विन्टर सेड्युलमा हिमालयले काठमाडौँ-ल्हासा सातामा तीन दिन सोमबार, बुधवार र शुक्रवार उडान अनुमति पाएको छ । तर, यात्रु अभावले ल्हासा उडान नियमित छैन । अब नयाँ उडान तालिका स्वीकृत भएपछि सोमबार र मङ्गलवार काठमाडौं-ल्हासा-पोखरा-ल्हासा-काठमाडौं उडान गर्नेछ।

बुधवार र शुक्रवार काठमाडौं-ल्हासा-काठमाडौं उडानको अनुमति मागेको छ । यसअघि एयर चाइनाले पनि ल्हासा-काठमाडौं उडान गर्थ्यो । तर, उसको पनि पछिल्लो समय उडान बन्द छ । हिमालय एयरलाइन्ससँग चार वटा जहाज छन् ।