धरान : नेपाली भाषा तथा साहित्यका कृतिलाई प्रदान गरिने 'कवि विमल गुरुङ कृति पुरस्कार २०८१'का लागि प्रकाशित पुस्तकहरू पठाउन विमल गुरुङ पुस्तकालय धरान-१८ ले आव्हान गरेको छ ।
पुस्तकालयले प्रत्येक वर्ष स्वदेश र विदेशका नेपाली साहित्य साधक, लेखक, कवि, साहित्यकारहरूका प्रकाशित कृतिलाई सम्मान स्वरूप उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
पुस्तकालयले वर्षेनी आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवका लागि पनि कविहरूलाई प्रतियोगितामा सहभागी कविता पठाउन आव्हान गरेको छ ।
यसपालि आउँदो कात्तिक २४ गते हुने कवि विमल गुरुङको ५३ औ जन्मजयन्ती तथा ३३औँ राष्ट्रिय कविता महोत्सवका लागि कविता आव्हान गरिएको पुस्तकालय संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । प्रतियोगीताका विजेता कविलाई ‘कवि विमल गुरुङ कृति पुरस्कार’ प्रदान गरिने छ ।
कृति पुरस्कारका लागि तोकिएको समयमा कृति दर्ता हुन पुस्तकालयमा आइपुग्नु पर्नेछ । कविता महोत्सवमा सहभागिता जनाउन कविता [email protected] मा इमेल गर्नुपर्ने बताइएको छ ।
कृति पुरस्कारको राशि नगद २ लाख रुपैयाँसहित ताम्रपत्र रहेको छ । कविता महोत्सवमा श्रेष्ठ कविता मध्ये प्रथम पुरस्कार नगद २१ हजार, द्वितीय १८ हजार, तृतीय १७ हजार रुपैयाँ प्रदान गरिने छ ।
पुस्तकालय सञ्चालन समिति उपाध्यक्ष प्रदीप मेन्याङ्बोका अनुसार कृति पुरस्कारका लागि २०८० तदनुसार सन २०२३ अप्रिल १४ देखि २०२४ अप्रिल १२ भित्र नेपाली भाषामा प्रकाशित जुनसुकै विद्याको कृति समावेश हुनेछ ।
कृति ४/४ प्रति २०८१ असोज १५ तथा २०२४ अक्टोबर १० सम्ममा पुस्तकालयमा दर्ता हुने गरी पठाउनुपर्ने छ । सहभागी हुनका लागि हालसम्म नेपाली नागरिक नै हुनुपर्छ भन्ने सीमा नतोकिएको उनले बताए ।
bimal-gurung-press-New