वराहक्षेत्र : धनकुटा जिल्लासँग सीमा जोडिएको सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित वराहक्षेत्र मन्दिर परिसरमा प्रहरी चौकी वराहक्षेत्रको नवनिर्मित भवनको समुद्घाटन गरिएको छ ।
आज बुधवार कोशी प्रदेश प्रहरी प्रमुख चन्द्र कुवेर खापुङ तथा बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्द कुमारी सुनुवारबाट संयुक्त रूपमा प्रहरी चौकी वराहक्षेत्रको नवनिर्मित भवनको समुद्घाटन भएको हो ।
भवन समुद्घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्य तथा बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्द कुमारी सुनुवारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नवनिर्मित प्रहरी चौकी भवन शिलालेख अनावरण गरी भवनको बिधिवत रूपमा समुद्घाटन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिम्सिनाले बताए ।
धर्तीको पहिलो तीर्थस्थल वराहक्षेत्रमा प्रहरी चौकी नवनिर्मित भवन निर्माण सम्पन्न भई उद्घाटन भएकोमा निर्माण कार्यमा सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरूमा प्रदेश प्रहरी प्रमुख खापुङले धन्यवाद व्यक्त गरेका थिए ।
आगामी दिनहरूमा जनस्तरमा प्रहरीले प्रदान गर्ने शान्ति सुरक्षा तथा अपराध नियन्त्रण कार्यमा जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।
प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीहरूलाई नयाँ भवन प्राप्त भएसँगै आम नागरिकमा प्रहरीले प्रदान गर्ने सेवामा थप गुणस्तर सहितको प्रहरी सेवा प्रदान गर्न तथा भवनको सरसफाइ रेखदेख संरक्षण नियमित रूपमा गर्न समेत प्रदेश प्रहरी प्रमुख खापुङले निर्देशन दिएका थिए ।
नेपाल सरकारको ३ करोड १९ लाख ४० हजार रुपैयाँको लागतमा अढाई तल्ले सुविधा सम्पन्न कार्यालय भवन, भान्साघर तथा शौचालयको निर्माण भएको हो ।
सुनसरी जिल्लाको शिरमा रहेको वराहक्षेत्र मन्दिरमा २०७२ सालमा प्रहरी चौकी स्थापना भएको थियो । धार्मिक महत्त्वको हिसाबले प्रसिद्ध वराहक्षेत्र मन्दिरमा प्रहरी चौकी स्थापनाले स्थानीयसँगै पर्यटक, व्यपारीहरुलाई राहत तथा सुरक्षाको प्रत्याभूति भएको वराहक्षेत्रका स्थानीय अगुवा कुमार श्रेष्ठले बताए।
स्थानीहरूको पहल, अग्रसरताबाट तत्कालीन रूपमा चौकी स्थापना भएको स्मरण गर्दै उनले सुविधा सम्पन्न सुन्दर भवन निर्माण भएसँगै स्थानीयहरूलाई थप सुरक्षित र गौरव महसुस भएको उनले बताए ।
प्राकृतिक जोखिम, सुरक्षाको दृष्टिकोणमा संवेदनशील तथा मेला, पर्व लगायतको हिसाबले सुरक्षा चुनौती रहेको वराहक्षेत्रमा नवनिर्मित भवनले स्थानीय पर्यटकहरूलाई सहज हुने वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर श्रेष्ठले बताए ।