धरान : चीनको स्वायत्त प्रशासनिक क्षेत्र मानिँदै आएको मकाउसँग नेपालको पर्यटन प्रवर्द्धन गर्न सोझो हवाई यातायातको सुविधाको अभाव मुख्य समस्या भएको बताइएको छ ।
नेपाल पत्रकार महासङ्घ सुनसरीद्वारा आज शुक्रवार मकाउनका लागि नेपालको अवैतनिक पर्यटन प्रवर्द्धक आनन्द श्रेष्ठको स्वागत कार्यक्रम बिच भएको छलफलमा उक्त निष्कर्ष निकालिएको हो ।
मकाउमा नेपालको पर्यटन प्रवर्द्धनका लागि पछिल्लो पटक सन् २०१७ मा पाटा ट्राभल मार्ट आयोजना गरिएको थियो । पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगम सँगको सहकार्यमा द भेनिसियन मकाउ रिसोर्ट होटेलमा ४० औँ ‘नेपाल पेभिलियन’मा सहभागिता जनाएपछि अन्य प्रयास भएको छैन ।
गत : फागुनमा पर्यटन प्रवर्द्धक तोकिएपछि पहिलो पटक मकाउ पुगेका श्रेष्ठले मकाउबाट नेपाल पर्यटक नेपाल भित्राउन सिधा उडान नहुनु मुख्य समस्या भएको बताए । मकाउ पुग्न हङकङ वा गोञ्जाउ ट्रान्जिट भएर दुई ठाउँबाट भिसा लिनुपर्ने भएकोले समस्या भएको हो ।
नेपालबाट मकाउ करिब ४ घण्टाको उडानबाट पुग्न सकिछ । मकाउ सरकारसँग प्रस्ताव गरिएमा हवाई सुविधा प्राप्त हुनसक्ने बताउँदै श्रेष्ठले यसबारे नेपाल सरकारको पर्यटन मन्त्रालयलाई जानकारी दिएको उल्लेख गरे ।
सिधा उडानको हवाई मार्गमा चिनिया आकाश पर्ने भएकोले चीन सरकारले त्यसलाई स्वीकृति दिने नदिने बारेमा केही बताएनन् । क्यासिनो पर्यटनका लागि विश्वमा चर्चित मकाउको स्वायत्ततालाई लिएर पछिल्लो समय चीन-मकाउ बिच तनाव बढेको चर्चा चल्ने गरेको छ ।
मकाउ दक्षिणी चीनको ग्वाङडङ प्रान्तको किनारमा स्थित छ । यसले पश्चिममा चिनिया तट र पूर्वमा हङकङको न्यु ‘टेरिटोरी’को सिमानामा गाँसिएको छ । मकाउको जनसङ्ख्या लगभग ७ लाख छ । मकाउ विश्वको सबैभन्दा जनघनत्वयुक्त क्षेत्रमा पर्दछ ।
मकाउ, मकाउद्वीप र कोलोन तटस्थ क्षेत्र दुई मुख्य द्वीपमा अवस्थित छ । मकाउ हजारौँ वर्ष अघि स्थानीय आदिवासीहरूले आबाद गरेको ऐतिहासिक पृष्ठभूमि रहेको पाइन्छ । मकाउ १५५७ मा पोर्चुगिजहरूको उपनिवेश थियो ।
सन् १९९९ मा पोर्चुगलले मकाउलाई चीनको अधिकारमा हस्तान्तरण गरेको हो । त्यस बेला देखी मकाउलाई चीनको विशेष प्रशासनिक क्षेत्र मानिँदै आएको छ ।
अन्तरक्रियामा वरिष्ठ पत्रकार हर्ष सुब्बा, महेश श्रेष्ठ, भिमज्वाला राई, मनिता चाम्लिङले मकाउका धनाढ्यलाई नेपालमा लगानीका सम्भावना गर्न सरकार तहबाट पहल गराउन सुझाव दिए । महासङ्घका सभापति जनकऋषि राई सभापतित्वमा भएको छलफलको सञ्चालन सहसचिव भोला श्रेष्ठले गरेका थिए ।