धरान : वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजबाट अग्रज, ज्येष्ठ नागरिक तथा स्रष्टाहरू ९ जना संस्थागत सम्मान सहित १० सम्मानित भएका छन् ।

समाजको ९औँ वार्षिक साधारण सभामा शनिवार सम्मानित भएका हुन । सम्मानित हुनेहरूमा भानु वालिङ राई इटहरी-१९, केशवकुमार वालाहाङ राई इटहरी-२०, राज बान्तवा वालाहाङ राई, सङ्घीय सांसद माया राई, सूर्य वालिङ राई र उमेश वालाहाङ राई छन् ।

समाजले भाषा, संस्कृतिको क्षेत्रमा योगदान गर्दै आएको बान्तवा हतुवाली लाक्छाम संरक्षण समिति धरान ११-१७ लाई संस्थागत सम्मान प्रदान गरेको छ । समाजद्वारा सञ्चालित एम्बुलेन्स चालक मदन दर्जी सोही अवसरमा सम्मानित भएका छन् ।

वालाहाङ सुनाहाङ परिवारका ज्येष्ठ सदस्यद्वय वराहक्षेत्र-९ का ८७ वर्षीय केशरमान वालाहाङ राई र ८३ वर्षीय वैनीमाया राईलाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरिएको छ ।

सम्मानित सबैलाई प्रमुख अतिथि सङ्घीय सांसद माया राईले सम्मान पत्र प्रदान गरेकी थिइन् । समाजका अध्यक्ष बलराम राईको सभापतित्वमा भएको कार्यक्रम सचिव कृपालसिं राईले सञ्चालन गरेका थिए ।