इटहरी : इटहरीको गोरखा गल्लीबाट उदाएका बलराम बस्नेत मोबाइल क्षेत्रका प्रख्यात व्यापारी हुन् । इटहरीमा मात्र हैन पूर्वी पहाडका जिल्लामा उनले विश्वास आर्जन गरेका छन् । आफ्नै बाआमाले नपत्याएका उनी बजारले पत्याउने भएका छन् ।
सामान्य लेखपढ मात्र जानेका बलरामको जीवनमा मल्टीनेशनल कम्पनीले कायापलट गरिदिएको छ । उनी तिनै बलराम हुन् जो परिवारमा सबैभन्दा बिग्रिएको छोरा थिए । तिनै बलराम अहिले समाजको उदाहरण र परिवारको प्रेरणा भएका छन् ।
कुरा २०६१ सालको हो । फलामे ढोका मानिएको एसएलसीको परीक्षा पछि उनी झनै ठुलो जिम्मेवारी भित्र कैद भए । कमजोर पारिवारिक अवस्थाले उनलाई उकुसमुकुस बनाउँदै लग्यो । त्यसको एक मात्र विकल्प थियो विदेश जाने । कलिलै उमेरमा विदेश जानुपर्ने भयो । जान्न, हुन्न, सानै छु भन्ने कुनै बहाना थिएनन् उनीसँग ।
भारत हुँदै साउदी जान तयार भएर घर छाडे उनले । भारतमा केही समय बस्नुपर्ने एजेन्टले सल्लाह दिए । उनले सोही अनुसार गर्दै गए । आफू बसेको घर नजिकै मोबाइल मर्मत सिकाउने ठाउँ फेला पारे । एक दुई दिन आउने जाने गरेर बिस्तारै मोबाइलका पार्टपुर्जा सिक्न थाले । बसाई लम्बिने भएपछि उनले ध्यान दिएरै मोबाइल मर्मतको सिप सिके । उनको साउदी यात्रा बिस्तारै ओझेल पर्दै गयो । साउदी हिँडेका उनी घरै फर्किनुपर्ने भयो । साउदी गएर रियल कमाउने योजना तुहियो ।
बलराम इटहरी फर्किए । इटहरी आएपछि घरमा बस्ने अवस्था थिएन । विदेश जान नसकेर फर्किएको गरिब केटोले घरमा राम्रो सत्कार पाउने कुरै भएन । के गर्ने कसो गर्ने दोधारमा परे उनी । केही नभएपनी हातमा सिप लिएर आएका थिए । त्यही सिपको सदुपयोग गर्दै अर्का साथीसँग मिलेर मोबाइल मर्मत सेन्टर खोले ।
मासिक १७ सय भाडा तिर्नुपर्ने थियो । सिडी र डिभिडी बिक्री गर्ने अर्का साथी सँगै बसेर उनले मोबाइल मर्मत गर्न थाले । बिहान देखि दिनभर भोकै पसलमा खट्दा पनि राम्रो कमाई भएन । छाक टार्नै गाह्रो पर्ने अवस्थाको सामना गरे । पसल छाडेर अन्यत्र जाने विकल्प पनि बाँकी थिएन ।
होलसेलबाट मोबाइलको कभर ल्याएर विक्री गर्थे उनी । राम्रो कमाइ नभएपछि पार्टनरले पसल विक्री गर्ने योजना सुनाए । बलरामले १० हजार ऋण गरेर पसल किने । त्यसपछि आफ्नो इच्छा अनुसार पसल चलाउन थाले । मोबाइलमा गीत भरेर अलिअलि पैसा चलाउन पाए ।
५ वर्ष विना आम्दानी पसल सञ्चालन गरेको सुनाउँछन् बलराम । ‘दिनको ५० रुपैयाँ बचत गर्दा ठुलै काम भएको जस्तो महसुस हुन्थ्यो । मोबाइल मर्मत गरेर दुई सय रुपैयाँ लिँदा धेरै लिएँ जस्तो लागेर हात काम्थ्यो । पाँच सय पाउनु भनेको त सपनाकै कुरा थियो,’ विगत स्मरण गर्दै उनले भने ।
त्यही बिचमा उनका भाइ किशोर विदेश गएर फर्किए । किशोरले पनि मोबाइल मर्मतको काम सिके । मोबाइल पसलमा आम्दानी नभएपछि परिवारले पनि सपोर्ट गरेन । भाइ किशोरलाई बलराम जस्तो बन्लास् भन्ने चेतावनी आउँथ्यो । तर उनी निरन्तर लागिपरे ।
बलराम घर बाहिर भाडामा बस्न थाले । भर्खरै विवाह गरेका उनले श्रीमतीको गहना विक्री गरेर घर भाडा तिर्नुपर्ने अवस्था आयो । गहना विक्री गरेर बाँकी रहेको पैसाले पसलमा सामान थपे । सामान थपेपछि व्यापार पनि बढ्दै गयो ।
मोबाइल मर्मतको लागि पूर्वी पहाड ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, तेह्रथुम लगायतका जिल्लाबाट ग्राहक आउन थाले । एकपछि अर्को गर्दै ग्राहको भिड लाग्न थाल्यो । श्रीमतीको गहना विक्री गरेर फापेको बताउँदै उनले बिस्तारै ५ सय र हजारका नोटहरू देख्न थालेको बताए ।
त्यही बिचमा आइफोन मर्मतको ट्रेनिङ लिन उनी काठमाडौँ गए । अस्ट्रेलियाका जैद अलीले इलाममा दिएको तालीमबाट उनले सामान्य ज्ञान पाइसकेका थिए । काठमाण्डौँमा सिकेर दक्ष भएपछि उनी हौसिए । बलरामले आइफोन मर्मत गर्न सिकेको हल्ला इटहरी लगायत आसपासको बजारमा फैलियो । मोबाइल क्षेत्रमा उनले चर्चा कमाउँदै गए ।
आइफोन मर्मत गर्न थालेका दिन देखी उनको कमाइ बढ्यो । कमाई सँगै इज्जत र प्रतिष्ठा बढ्यो । गुमाउँदै गएको परिवारको साथ फर्कियो । साथीहरू नजिकिन थाले । समाजको नजर फेरियो । अन्य पसलमा आएका मोबाइल समेत मर्मत गर्न भ्याइन भ्याइ हुन थाल्यो । आइफोनले उनको समग्र जीवन बदलिदियो ।
अहिले बलराम र किशोर सँगै काम गर्छन् । बाआमा खुसी छन् । बलरामकी श्रीमती किराना पसल चलाउँछिन् । आफ्नै कमाइबाट घर बनाएका छन् । घरमा आइफोनको प्रतिमा हातमा आइफोन कै ट्याटु छ उनको । दुई वटा घर बनाएका बलरामले गाडी किनेका छन् ।
कुनै बेला साइकल मर्मत गर्ने पैसा नभएका उनी आफ्नै कमाइको गाडी चढ्छन् । भाडा तिर्न नसक्ने बलराम आफ्नै कमाइको घरमा बस्छन् । आइफोनले उनको सम्पत्ति मात्र हैन सम्बन्ध पनि जोडिदिएको छ । त्यसैले उनी आइफोनसँग खुसी छन् ।
कमाई बढ्दै गएपछि आइफोन विक्री गर्न थालेका छन् । अहिले इटहरीमा सबैभन्दा धेरै आइफोन विक्री गर्ने विक्रेताको रूपमा उदाएका छन् उनी । भर्खरै मोबाइल एक्सचेन्ज अफर ल्याएका उनले जुनसुकै ब्रान्डका मोबाइल ल्याए पनि आइफोन लैजान पाइने सुविधा दिएका छन् । किस्ता बन्दीमा आइफोन विक्री गर्छन् बलराम ।
दिनमा ५० हजारको एसोरेसेरीज मात्र विक्री गर्ने गरेको उनले बताए । केही वर्ष अगाडी बेरोजगार भएका बलरामको पसलमा ७ जनाले रोजगारी पाएका छन् । दशैको लागि कर्मचारी थप्ने तयारीमा छन् उनी । एक दिनमा १७ लाख सम्मको कारोबार गरेको उनको अनुभव छ । ‘मोबाइल पसल खोल्न सक्षम हुन लामो समय अनुभव चाहिन्छ । स्किल भएपछि बेरोजगार बस्नु पर्दैन । मैले बुझेको कुरा बेरोजगारीको समाधान भनेको मेहनत र सिप हो,’ उनले भने ।