इटहरी : मोरङको गछीयामा कपाल काटेर दैनिक सय रुपैयाँ जम्मा गरेका नारायण ठाकुरको अम्बे कोसी सहकारीमा २१ हजार डुब्यो । हजुर बाको किरिया खर्च जुटाउनको लागि अन्यत्रै ऋण गरेका उनले आपत् परेको भन्दा पनि बचत फिर्ता पाएनन् ।
अम्बे कोशीको विराटचोक शाखामा खाता खोलेका उनी इटहरी स्थित मुख्य कार्यालय पुग्दा समेत आफ्नो रकम नपाएको सुनाउँछन् । केही समय अगाडी मुद्दा हाल्नुपर्यो भन्दै फोन आएपछि इनरुवा गएर हस्ताक्षर गरेको उनको भनाइ छ ।
नारायणको छेवैमा कपडा पसल सञ्चालन गर्ने मुना भट्टराईको पनि १४ हजार डुबेको छ । केही समय अगाडी पैसा माग्न जाँदा भोली दिन्छु भन्दै झुलाएर अहिलेसम्म नदिएको उनले बताइन् । उनी सहित साजीलाल मार्केटमा व्यवसाय गर्ने १० जनाको बचत डुबेको छ ।
हजारमा मात्र हैन लाख र करोडमा बचत डुबाउने पनि त्यत्तिकै सङ्ख्यामा देखिएका छन् । बचतकर्ता गणेश सिगु लिम्बुको १४ लाख ६४ हजार, आँचल खड्काको २३ लाख, लक्ष्मण शाहको २२ लाख, गोकुल जिन्दलको १ करोड ३ लाख बचत छ । अनिता अग्रवालको १२ वटा खाताबाट ७० लाख भन्दा बढी रकम सहकारीमा बचत भएको छ । अम्बे कोशीमा बचतकर्ताको ४७ करोड ७ लाख अपचलन भएको जिल्ला अदालत सुनसरीको अभियोग पत्रमा उल्लेख छ ।
राजनीतिक शक्ति र सक्ताको आडमा सहकारीको रकम हिनामिना हुने गरेको र कारबाही प्रक्रिया पनि सोही अनुसार प्रभावित हुने गरेको पाइएको हो । इटहरी केन्द्रीय कार्यालय रहेको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाको २१ लाख अपचलन गरेकी विष्णुमाया लिम्बु (अमृता सुब्बा) ५ लाख धरौटीमा रिहा भएकी भइन् ।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य सुब्बाले २१ लाख ५५ हजार अपचलन गरेको सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा उल्लेख छ । सहकारी क्षेत्रमा बलियो प्रभाव रहेकी सुब्बा राष्ट्रिय सहकारी महासङ्घ र राष्ट्रिय सहकारी बैककी सञ्चालक हुन् । महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुब्बाले सहकारी क्षेत्रमा आफूलाई प्रभावशाली व्यक्तित्वको रूपमा प्रस्तुत गर्ने गरेकी छिन् । आफू सदस्य नै नरहेको समर्पण बचत तथा ऋण सहकारीबाट नेफ्स्कुनको ३२ औँ साधारण सभामा प्रतिनिधि समेत भइन् उनी ।
अम्बे कोशीका अध्यक्ष फडिन्द्र बहादुर पुर्वछाने (मगर) पुर्पक्षको लागि थुनामा छन् । इटहरीमा केन्द्रीय कार्यालय रहेको सहकारीले विराटचोक, विराटनगर र दमकका नागरिकको बचत अपचलन गरेको हो । सञ्चालक शिला गजमेरले ५ लाख रुपैयाँ अपचलन गरेको र सो रकम आफू तिर्न तयार रहेको बयान दिएकी थिइन् । गजमेर ५ लाख नै धरौटी बुझाएर रिहा भइसकेकी छिन् । ८ लाख २९ हजार बचत गरेर एक लाख ऋण लिएका सोही सहकारीका कर्मचारी राहुल अग्रवालले १० लाख धरौटी बुझाएका छन् ।
सहकारी ऐन २०७४ का अनुसार १० लाख रुपैयाँ देखि ५० लाख सम्म बिगो भए दुई वर्ष देखि ३ वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।