धरान : नेपाली काँग्रेसका सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा मङ्सिर २१ गते धरानमा कार्यकर्तालाई सम्बोधन गर्न आउने भएका छन् ।
काँग्रेस धरान उपमहानगरसमितिको निमन्त्रणमा सभापति देउवा धरान आउन लागेको नेपाली काँग्रेस धरान उपमहानगर समितिका सभापति श्याम पोखरेलले जानकारी दिएका हुन ।
प्रमुख अतिथि सभापति देउवाले बृहत् कार्यकर्ता भेलामा पुस्तक विमोचन, पत्रकार सम्मान एवं पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको उनले बताए ।
पूर्व प्रधानमन्त्री देउवाले अग्रज पत्रकार, लेखक गिरिराज आचार्यको ‘वीपी कोइरालाका साहित्यिक विचारहरू’ नामक पुस्तक विमोचन गर्ने कार्यक्रम छ ।
कार्यक्रममा सभापति देउवाले गिरिराज आचार्य श्रृजनशील पत्रकारिता पुरस्कार अक्षयकोषद्वारा प्रदान गरिने ‘गिरिराज आचार्य श्रृजनशिल पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार हर्ष सुब्बालाई सम्मान-पत्र प्रदान गर्ने कार्यक्रम छ ।
साथै सोही अवसरमा ‘गिरिराज आचार्य श्रृजनशील पत्रकारिता पुरस्कार’ पत्रकार विनय प्रधानलाई प्रदान गर्ने कार्यक्रम छ । प्रधान विगत डेढ दशक देखि टेलिभिजन पत्रकारितामा क्रियाशील छन् ।
काँग्रेस महासमिति सदस्य तथा धरान उपमहानगरपालिका पूर्व प्रमुख तिलक राईले चार दशक देखि निरन्तर पत्रकारितामा सक्रिय रहेका सुब्बालाई पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सम्मान गर्न लागिएको बताए । सुब्बा कपुरी न्यूजका प्रधान सम्पादक हुन ।
नेपाल प्रेस युनियन सँगको सहकार्यमा नेपाली काँग्रेस धरान उपमहानगर समितिले ‘गिरिराज आचार्य श्रृजनशील पत्रकारिता पुरस्कार अक्षयकोष’ स्थापना गरेको छनौट समितिका संयोजक बासुदेव बरालले बताए ।
सभापति देउवाका साथमा गृहमन्त्री रमेशदत्त लेखक, केन्द्रीय सदस्य पुर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, प्रदेश सभापति उद्धव थापा धरान आउने सभापति पोखरेलले जानकारी दिए । पूर्व प्रधानमन्त्री देउवा यसअघि धरान उपमहानगर समितिको निमन्त्रणमा २०७६ भदौ २५ गते र २०७८ पुष २० गते धरान आएका थिए ।