विराटनगर : विराटनगरस्थित बरगाछी-रानी सडक सौन्दर्यीकरण परियोजनाका लागि बैङ्क तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।
बुधवार विराटनगरस्थित लक्ष्मी सनराइज बैङ्क लिमिटेडले सडक सौन्दर्यीकरणका लागि २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरपालिका मेयर नागेश कोइरालालाई भेटेर बैङ्कका प्रदेश प्रमुख बर्बरिक पोखरेल र विराटनगर शाखाका प्रमुख सुदीप नरसिंह रायमाझीले २ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी-रानी सडक सौन्दर्यीकरण परियोजना अगाडि बढाएको छ । सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । हालसम्म २६ लाख ५० हजार रुपैयाँ प्राप्त भइसकेको महानगरका तर्फबाट सौन्दर्यीकरण परियोजनाका लागि सहजीकरण गरिरहेका पुनमकुमार दाहालले जानकारी दिए ।
लक्ष्मी सनराइजसहित १४ वटा विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूबाट २६ लाख ५० रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।
यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैङ्क, ग्लोबल आइएमई, कुमारी बैङ्क, सानिमा बैङ्क, कृषि विकास बैङ्क, एनएमवी बैङ्क, स्टान्डर्ड चार्टर्ड बैङ्क, एसवीआई बैङ्क, हिमालयन बैङ्क, नविल बैङ्क, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका थिए ।
महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्क तथा वित्तीय संस्थाहरूले बरगाछी-रानी सडक सौन्दर्यीकरणमा सहयोग पुर्याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ ।
बरगाछीदेखि रोडशेष चोकसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र बिरुवासमेत रोपिसकिएको दाहालले जानकारी दिए । बरगाछी-रानी सडक खण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये ३३ वटामा सौन्दर्यीकरणको काम सकिएको छ । मेयर कोइरालाले विराटनगरको विराटनगरको समग्र विकासमा सबैको सहयोग आवश्यक रहेको बताए ।